आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली, ६ माघ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको सफल उद्धार गरिएको छ। सोमबार साँझ भएको आगलागीका क्रममा घरभित्र फसेकी ७० वर्षीया तुलसी भुसाललाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो।

राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहका अनुसार उपसेनानी मनोज कुँवर र प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा रहेको टोलीले भवनको भित्ता फोडी चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको थियो।

उद्धारपछि भुसाललाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको र हाल उहाँको अवस्था सामान्य रहेको प्रमुख सेनानी सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार विद्युत् सम्बन्धी काम गर्ने क्रममा ‘सर्ट’ भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। पसलभित्र रबर, टायर तथा छिटो आगो सल्किने वस्तु रहेकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको उहाँले बताउनुभयो। करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१ जना, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५० जना, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जनाको टोली, नेपाल आयल निगम सुर्खेतको दमकल, डिभिजन वन कार्यालय सुर्खेतको ट्याङ्कर तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको र आगलागीको थप कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिनुभयो।

Facebook Comments Box