नेपाल–साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर
रियाद, साउदी अरब, १२ माघ – नेपाल र साउदी अरबबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।
साउदी अरबको रियादमा सम्पन्न सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अल–राजीले हस्ताक्षर गर्नुभएको हो ।
एक दशकभन्दा लामो प्रयासपछि साउदी अरबसँग श्रम सम्झौता सम्पन्न भएको हो । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक–पटक मस्यौदा तयार पारिए पनि राजनीतिक कारणले हस्ताक्षर हुन ढिलाइ हुँदै आएको थियो ।
गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गरेको थियो । तर भदौ २३ र २४ गतेको जनआन्दोलनका कारण सरकार परिवर्तन भएपछि सम्झौता प्रक्रियामा ढिलाइ भएको थियो । सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रम मन्त्रीबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो ।
बैठकका क्रममा मन्त्री भण्डारीले यस सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो ।
साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।
दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ । यस सम्झौताबाट साउदी अरबमा हाल कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाउने, करारपत्र फेरबदल गर्ने, कम्पनीले घर फर्किन नदिने, उपचारमा लापरवाही गर्ने जस्ता समस्या भोग्दै आएको भन्दै दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले (पुनः श्रम स्वीकृतिसहित) साउदी अरबका लागि श्रम स्वीकृति लिएका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएर साउदी अरब गएका थिए ।

