पछिल्लो २४ घण्टामा देशभर २४ विपद् घटना, आगलागीको संख्या सबैभन्दा बढी
काठमाडौँ, १२ माघः पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनामध्ये आगलागी सबैभन्दा बढी रहेका छन् । हिउँद याममा आगलागीका घटना उल्लेख्य रूपमा बढ्ने र यसबाट जनधनको क्षति हुने गरेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ वटा आगलागीका घटना भएका छन् । असावधानीका कारण परालको कुन्युमा आगो लाग्ने, हावाहुरीका कारण आगो फैलिने तथा आगो ताप्ने क्रममा लापरवाही हुँदा आगलागी भई घाइते हुनेजस्ता घटना भएका छन् । यी विपद्का कारण कूल रु २५ लाख ३० हजार बराबरको क्षति भएको छ भने सात जना घाइते भएका छन् ।
प्राधिकरणका विवरणअनुसार मोरङमा दुई तथा सुनसरी, भोजपुर, सप्तरी र सिरहामा एक–एक वटा आगलागीका घटना भएका छन् । त्यस्तै सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान र कैलालीमा पनि आगलागीका घटना घटेका छन् ।
यसैबीच बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणसम्बन्धी घटना भएका छन् । प्राधिकरणले सबैलाई विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

