प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

काठमाडौँ, १२ माघ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना गरिएको उक्त केन्द्रमार्फत निर्वाचनसम्बन्धी सबै प्रकारका समस्या तत्काल समाधान गरिने आयोगले जनाएको छ ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार स्थापना गरिएको हो । केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा उहाँले कुनै निर्वाचन क्षेत्रमा समस्या देखिएमा त्यसको तत्काल समाधानका लागि केन्द्रले काम गर्ने जानकारी दिनुभयो । मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्याहरू केन्द्रमार्फत समाधान गरिने उहाँको भनाइ छ ।

आयोगका सचिवको नेतृत्वमा रहने उक्त केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ । केन्द्रले आवश्यक सूचना संकलन, विश्लेषण तथा आवश्यक निर्णय तत्काल लिने काम गर्ने जनाइएको छ ।

Facebook Comments Box