माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

झापा, १२ माघ – विदेश जानु नै सफलता हो भन्ने आम बुझाइबीच झापाको हल्दीबारी–४, जलथलका शैलेन्द्र सिटौलाले भने स्वदेशमै श्रम र लगानी गर्दा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । स्नातक तहको अध्ययन पूरा गरेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुग्नुभएका शैलेन्द्र एक वर्ष पनि त्यहाँ टिक्न सक्नुभएन ।

मरुभूमिको देशमा सीमित पानी र प्रतिकूल वातावरण हुँदाहुँदै पनि आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि तथा पशुपालन सफलतापूर्वक भइरहेको देखेपछि उहाँको सोच परिवर्तन भयो । “यदि मरुभूमिमा खेती सम्भव छ भने हरियाली नेपालमा किन हुँदैन ?” यही प्रश्नले उहाँलाई स्वदेश फर्कायो ।

वि.सं. २०७४ मा नेपाल फर्किएपछि शैलेन्द्रले हल्दीबारीमा दुई बिघा क्षेत्रफलमा माछापालन सुरु गर्नुभयो । प्रारम्भमा करिब १० लाख रुपैयाँ लगानी गरी पोखरी, तटबन्धलगायत संरचना निर्माण गर्नुभयो । हाल उहाँसँग पाँच वटा पोखरी छन्, जहाँ व्यावसायिक रूपमा माछापालन भइरहेको छ ।

उहाँको फार्ममा मुख्यतया पंगास जातका माछा पालिन्छन् भने केही मात्रामा कार्प प्रजातिका माछा पनि छन् । साना पोखरी भने माछाको भुरा उत्पादनका लागि छुट्टै व्यवस्था गरिएको छ । हाल उहाँको पोखरीमा करिब ३५ हजार भुरा छन् ।बजारमा बिक्रीका लागि तयार माछाको तौल एक केजीदेखि अढाई केजीसम्मको हुन्छ ।

वार्षिक रूपमा करिब ३० टन माछा बजारमा पठाउने गरेको शैलेन्द्र बताउनुहुन्छ । माछापालन व्यवसायमार्फत उहाँले तीन जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । “आफूले विदेश जानुपर्ने बाध्यता नहोस् भन्ने मेरो चाहना हो,” उहाँ भन्नुहुन्छ, “यही व्यवसायले अरूलाई पनि रोजगारी दिएको छ, यही नै मेरो लागि ठूलो उपलब्धि हो ।”

खर्च कटाएर वार्षिक १६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । कुल लगानीको करिब २० प्रतिशत नाफा लिन सकिएको उहाँले बताउनुभयो । सुरुदेखि नै माछापालन व्यवसाय राम्रोसँग चलिरहेको उहाँको अनुभव छ । यद्यपि सफलतासँगै चुनौती पनि कम छैनन् । सबैभन्दा ठूलो समस्या बजार र मूल्य निर्धारण रहेको शैलेन्द्रको भनाइ छ ।

किसानबाट माछा प्रतिकेजी २४० रुपैयाँमा खरिद गरिए पनि त्यही माछा बजारमा ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । “हामी उत्पादन गर्छौं, जोखिम लिन्छौँ, तर मूल्य निर्धारण बिचौलियाले गर्छ,” उहाँको गुनासो छ । मुख्य बजार विर्तामोडस्थित कृषि थोक बजार भए पनि त्यहाँ किसानको पहुँच र प्रभाव सीमित रहेको उहाँको भनाइ छ ।

अर्को समस्या भारतबाट अवैध रूपमा भित्रिने माछा रहेको उहाँ बताउनुहुन्छ । भारतबाट कतिपय मरेका माछा फर्मालिन प्रयोग गरेर नेपाली बजारमा भित्रिने हुँदा उपभोक्ताको स्वास्थ्यमा जोखिम बढ्नुका साथै स्वदेशी किसानलाई कम मूल्यमा बेच्न बाध्य बनाइने उहाँको भनाइ छ । “यदि सरकारले दुई–तीन महिना मात्र भारतबाट आउने माछामा कडाइका साथ नियन्त्रण गरिदिने हो भने हामीजस्ता किसानलाई ठूलो राहत मिल्थ्यो,” उहाँ भन्नुहुन्छ ।

आफूलाई कृषक भनेर चिनाउन पाउँदा गर्व महसुस गर्ने शैलेन्द्र भन्नुहुन्छ, “कृषि पेसा सम्मानित पेसा हो । यसले आत्मसन्तुष्टि दिन्छ, मेरो लागि सबैभन्दा ठूलो कमाइ यही हो ।” उहाँका अनुसार युवा विदेशिनु बाध्यता बनेको भए पनि नीति, बजार र संरक्षण सही भए धेरै युवा नेपालमै टिक्न सक्ने सम्भावना रहेको छ ।

Facebook Comments Box