१५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध छिटो लागू गर्ने फ्रान्सको तयारी

पेरिस,  ११ माघ  – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया तीव्र बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ । शनिबार बीएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गर्नुभएको भिडियो सन्देशमा उहाँले सरकारलाई द्रुत प्रक्रिया सक्रिय गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

“यो कानुन सकेसम्म चाँडो पारित होस् भनेर मैले सरकारलाई द्रुत प्रक्रिया अघि बढाउन भनेको छु,” राष्ट्रपति म्याक्रोँले भन्नुभयो । उहाँले उक्त प्रतिबन्ध आगामी शैक्षिक सत्र, अर्थात् सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । फ्रान्सेली सांसदहरूले हाल १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने विधेयकमाथि छलफल गरिरहेका छन् ।

विधेयकको मस्यौदा सोमबार संसद्मा पेश गरिने जनाइएको छ । यसअघि अस्ट्रेलिया इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरू १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो ।

सामाजिक सञ्जाल प्रतिबन्धसँगै राष्ट्रपति म्याक्रोँले विद्यालयमा विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने विषयमा पनि समर्थन जनाउनुभएको छ । “हाम्रा बालबालिका र किशोरकिशोरीको दिमाग न त अमेरिकी प्लेटफर्मले चलाउनका लागि हो, न त चिनियाँ एल्गोरिदमले नियन्त्रण गर्नका लागि,” उहाँले भन्नुभयो ।

Facebook Comments Box