गोरखामा सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि

गोरखा, ११ माघ – गोरखा जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार चालु वर्ष जिल्लामा तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।उत्पादन वृद्धि भएसँगै किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

साथै, करिब एक करोड ५० लाख रुपैयाँ बराबरको कागतीसमेत बिक्री भएको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सुन्तलाको उत्पादन १५ देखि २० प्रतिशतसम्म बढेको छ । उत्पादन बढेपछि किसानहरू उत्साहित बनेका छन् ।

“यस वर्ष मौसम अनुकूल हुनुका साथै विगतका वर्षहरूमा रोपिएका सुन्तलाका बोटले उत्पादन दिन थालेकाले उत्पादनमा वृद्धि आएको हो,” सूचना अधिकारी रेग्मीले भन्नुभयो । गत वर्ष जिल्लाभर जम्मा एक हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६०० मेट्रिक टन र आव २०७९/८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र गोरखाले पनि यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको पुष्टि गरेको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यस वर्ष जिल्लामा करिब १५ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको हो । आम्दानीको विस्तृत विवरण भने कार्यालयले नराखेको उहाँले जानकारी दिनुभयो ।

“मौसमको अनुकूलता र किसानको मेहनतका कारण उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि प्राविधिक सहयोग निरन्तर दिँदै आएको छ,” उहाँले बताउनुभयो । जिल्लामा सुन्तला खेती प्रवर्द्धनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सुन्तला जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गण्डकी, सहिदलखन र भीमसेनथापा गाउँपालिका, गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाका वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिएको एकाइका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बगैँचा व्यवस्थापन, चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितका प्रदर्शनी तथा साना मेसिनरी वितरणलगायत कार्यक्रममार्फत उत्पादन वृद्धि गर्न सहयोग गरिएको छ । सुन्तला जोनबाहेकका क्षेत्रमा करिब १० प्रतिशत उत्पादन हुने गरेको छ ।

गोरखा जिल्लाको गण्डकी, भीमसेनथापा, सहिदलखन र सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चे गाउँपालिकाअन्तर्गत कासीगाउँ क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल, सहिदलखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने र अँधेरीलाई सुन्तलाको पकेट क्षेत्र मानिन्छ ।

त्यस्तै, भीमसेनथापाको तान्द्राङ, पालुङटारको बागडाँडा र शेरा तथा गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसी पनि प्रमुख सुन्तला उत्पादन क्षेत्रका रूपमा परिचित छन् । जिल्लामा करिब एक हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ भने करिब ३०० किसान यस व्यवसायमा आबद्ध छन् । यहाँ खाकु र स्थानीय जातका सुन्तला उत्पादन हुँदै आएका छन् ।

Facebook Comments Box