पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ, ११ माघ – प्राकृतिक सौन्दर्यले भरिपूर्ण वेतना सिमसार आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । हिउँदयाममा दैनिक करिब पाँच सय हाराहारीमा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चरासहित कछुवा, माछा, अजिङ्गर तथा हरिणलगायतका वन्यजन्तुले पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।

सुनसरीको इटहरी चोकदेखि करिब १६ किलोमिटर पूर्वतर्फ अघि बढ्दा हरियाली वनले ढाकिएको क्षेत्रसँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार अवस्थित छ । दुई प्रजातिका वेत वनस्पति प्रशस्त मात्रामा पाइने भएकाले यस क्षेत्रलाई वेतना सिमसार भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिसो पानी, स्वच्छ हावा, मनोरम दृश्य तथा चरा, माछा र कछुवाको उपस्थितिले सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको हो । राजमार्गसँगै जोडिएको हुँदा जाडोयाममा वनभोज खान आउने पर्यटकको दैनिक घुइँचो लाग्ने गरेको समितिका सहसचिव राजन प्रसाईंले बताउनुभयो । उहाँका अनुसार सिमसार अवलोकनका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा पानीको फोहोरा निर्माणको कामसमेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो । करिब ६५ बिघा क्षेत्रफलमा फैलिएको वेतना सिमसारमा साइबेरियाबाट आउने चरासहित २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् ।

यस्तै, अन्तर्राष्ट्रिय रूपमा अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्ल्याक सफ्टसेल’ प्रजातिको कछुवा दुई दर्जनभन्दा बढी सङ्ख्यामा फेला परेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । यहाँ पाइने वनस्पति, पशुपन्छी तथा जैविक विविधताको संरक्षणमा उपभोक्ता समिति सक्रिय रूपमा लागेको उहाँको भनाइ छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले वेतना सिमसारलाई पूर्वी नेपालको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभएको छ । पछिल्लो समय यस क्षेत्रमा विभिन्न जीवविज्ञहरू जैविक अनुसन्धानका लागि समेत आउने गरेका छन् । “यहाँका जीवजन्तु र प्राकृतिक सम्पदाको संरक्षण हाम्रो मुख्य दायित्व हो, त्यसैले संरक्षणलाई प्राथमिकता दिएका छौँ,” अध्यक्ष भट्टराईले भन्नुभयो ।

Facebook Comments Box