राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान आज

काठमाडौँ, ११ माघ – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज (माघ ११ गते) सातै प्रदेशमा मतदान हुँदैछ । बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुने निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको छ भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको हो ।

बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

Facebook Comments Box