निर्वाचन ३९ दिन बाँकी : उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ, ११ माघ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१) बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारले मनोनयनपत्रसँगै पेस गरेको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

सोही व्यवस्थाअनुसार आयोगले उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो । निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको हो ।

यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । उक्त विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएका छन् । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । दर्ता भएका उम्मेदवारमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

Facebook Comments Box