मलङ्गवामा दादुरा सङ्क्रमण फैलियो

सर्लाही, ११ माघ – मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । उक्त वडामा दादुरा सङ्क्रमणबाट प्रभावित सात जना बिरामी फेला परेका छन् । मलङ्गवामा दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमणको आशङ्कामा २२ जनालाई उनीहरूकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले स्थानीयवासीसँग अनुरोध गरेको छ । दादुरा रोगबाट बालबालिकालाई जोगाउन तथा थप सङ्क्रमण फैलिन नदिन माघ १२ गतेदेखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने डा. झाले बताउनुभयो ।

अभियानअन्तर्गत मलङ्गवा नगरपालिका–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले अभिभावकहरूलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्ता सङ्क्रामक रोगबाट बच्न सकिने स्वास्थ्य कार्यालयको विश्वास छ ।

Facebook Comments Box