बाढीपहिरोले विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ । कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास पहिरोका कारण फिदिम–फालेलुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ । १० टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने तथा मिनी र साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ । नुवाकोटका विभिन्न स्थानमा पनि बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । मुख्य राजमार्गसँगै पासाङल्हामु सडकखण्डमा समेत यातायात प्रभावित भएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्डमा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । धादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्ड पहिरोका कारण प्रभावित भएका छन् । बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध छ भने सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक मर्मत भइरहेकाले सवारीको चापअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशअन्तर्गत मनाङको नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्यका कारण यातायात प्रभावित भएको छ । सडक विभागका अनुसार उक्त खण्डमा साना सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने ठूला सवारीका लागि पनि तोकिएको समयअनुसार सडक बन्द रहने व्यवस्था गरिएको छ । प्रहरी तथा सडक विभागले बाढी, पहिरो र सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

Facebook Comments Box