आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेश हटायो, स्कटल्यान्डले स्थान पायो

काठमाडौँ, १० माघ – आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट सहभागी नगराउने निर्णय गरेको हो।

बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो। आईसीसीले विश्वकप पूर्वनिर्धारित तालिकाअनुसार नै अगाडि बढ्ने स्पष्ट पारे पनि बंगलादेश आफ्नो अडानबाट पछि हटेन।

बिहीबार ढाकामा बीसीबी, राष्ट्रिय टोलीका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच भएको बैठकपछि पनि बंगलादेशले भारतमा खेल्न नजाने निर्णय कायम राखेको थियो।

यसअघि बुधबार भएको आईसीसी बोर्ड बैठकपछि भारतमा खेल्न अस्वीकार गरेमा बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर अर्को टोलीलाई अवसर दिइने चेतावनी दिइएको थियो।

अब बंगलादेशको स्थानमा स्कटल्यान्डले मौका पाएको छ। स्कटल्यान्ड यूरोप छनोट पार गर्न नसकेकाले विश्वकपमा छनोट हुन सकेको थिएन। तर, बंगलादेश नखेलेको अवस्थामा हाल विश्वकप खेल्ने टोलीहरूबाहेक सबैभन्दा उच्च वरियतामा रहेकाले स्कटल्यान्डलाई स्थान दिइएको हो।

आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि बीसीबी र भारतीय क्रिकेट बोर्डबीच विवाद सुरु भएको थियो। त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको र बीसीबीले भारतमा विश्वकप नखेल्ने पत्र आईसीसीलाई पठाएको थियो।

Facebook Comments Box