नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौँ, १० माघ – पूजा महतोको अर्धशतकको मद्दतमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो। जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा पूजा महतोले ५० बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाइन्। कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरे।

जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई विकेट लिइन् भने नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक–एक विकेट लिए।

Facebook Comments Box