अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा नगर्न आग्रह
काठमाडौं, २९ पुस – अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा नगर्न आग्रह गरेको छ । विभागले नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न आग्रह गरेको हो ।
विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को संक्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले एक सूचना जारी गरी अर्काे व्यवस्था नभएसम्मका लागि सचेत हुन अनुरोध गरेको हो ।
ओमिक्रोन देखिएका मुलुकबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मंसिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागको सूचनामा उल्लेख छ । गएको तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुका हकमा समेत उक्त निर्णय लागू हुने जनाइएको छ ।
विभागले तोकिएका देशसँगै अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ ।
पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।

