निर्वाचन ४० दिन बाँकी, समानुपातिकतर्फ ५० लाख मतपत्र छपाइ हुन बाँकी
काठमाडौँ, १० माघ – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । अब ५० लाख थान मतपत्र छपाइ गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ । मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको हो ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ । आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक–एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पठाइसकिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार ४०६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । आयोगले शुक्रबार उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्यतर्फ एक जना रहेका छन् ।
उम्मेदवारी दर्तादेखि नाम फिर्तासम्मको निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगको भनाइ छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावलीसमेत प्रकाशित भइसकेको आयोगले जनाएको छ ।

