निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था मिलाउन आयोगको राष्ट्र बैङ्कलाई पत्राचार

काठमाडौँ, १० माघ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलका लागि बैङ्क खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको छ । आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैङ्क खातामार्फत गर्नुपर्ने र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था रहेकाले त्यसका लागि आवश्यक सहजीकरण गरिदिन केन्द्रीय बैङ्कसँग आग्रह गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र खर्च गर्नुपर्ने व्यवस्था छ ।यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैङ्क खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत खर्च गर्नुपर्नेछ ।

रु २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैङ्क वा वित्तीय संस्थामार्फत मात्र लिनुपर्ने प्रावधान रहेको आयोगले जनाएको छ । कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रूपमा नगद प्राप्त भएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्ने र राजनीतिक दलका नाममा प्राप्त सहयोग दलको तथा उम्मेदवारका नाममा प्राप्त सहयोग उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

यी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल र प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारका लागि बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो ।

आयोगका अनुसार दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खोलेका बैङ्क खाता आमनिर्वाचन सम्पन्न भई आयोगले बन्द गर्न निर्णय नगरेसम्म सञ्चालनमा रहनेछन् । निर्वाचनसम्बन्धी आम्दानी र खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एक खाता र प्रत्येक उम्मेदवारका लागि एक–एक बैङ्क खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आयोगले नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको जनाएको छ ।

Facebook Comments Box