संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
भक्तपुर, ९ माघ – भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्नै नमिल्ने गरी ध्वस्त भएपछि त्यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ।
बिहीबार राति करिब १० बजेदेखि रातभर सुधार गृहभित्र भएको झडप, आगजनी र तोडफोडका कारण सबै संरचनामा क्षति पुगेपछि तत्काल बसोबास असम्भव भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका प्रहरी हिरासतमा बाल निगरानी कक्षमा राखिएको छ र क्षतिको विवरण संकलन भइरहेको छ। संरचना पुनर्निर्माणपछि उनीहरूलाई पुनः सुधार गृहमै फर्काइने उहाँले बताउनुभयो।
प्रहरीका अनुसार झडपका क्रममा आठ जना बालबिज्याइँकर्ता र २० जना प्रहरी घाइते भएका छन्। घाइते बालबिज्याइँकर्तामध्ये सात जनाको नेपाल कोरिया मैत्री नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको उपचार जारी छ।
सुधार गृहमा बालबिज्याइँकर्ताले आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरी टोलीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो।
सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ युवा तथा २४ बालिकासमेत रहेका थिए। कानुनी व्यवस्था नहुँदा १८ वर्ष उमेर नाघेपछि पनि ३५ वर्षसम्मका युवाहरू सुधार गृहमै बस्दै आएको कर्मचारीहरूले बताएका छन्।
सुधार गृहभित्र प्रहरी प्रवेश गर्न नपाउने व्यवस्था रहेको, रासन उपलब्ध गराएपछि बालबिज्याइँकर्ताले पालो बनाएर खाना खाने र भित्रै पढाइको व्यवस्था भए पनि उमेर छिप्पिकाका युवाहरू एकै ठाउँमा बस्दा महिला बालबिज्याइँकर्ताको सुरक्षामा थप चुनौती आएको कर्मचारीहरू बताउँछन्।
यसअघि पनि सानोथिमिस्थित सुधार गृहमा तोडफोड, झडप, कुटपिट र भाग्ने घटना पटक–पटक घट्दै आएका छन्। सानोथिमि आसपासका बासिन्दाले भने सुधार गृहलाई बस्तीबीचबाट हटाउनुपर्ने माग गरेका छन्।
पटक–पटक हुने झडप, आगजनी, तोडफोड र ढुङ्गामुढाले स्थानीयमा त्रास फैलिएको तथा सुधार गृहभित्रबाट हानिएका ढुङ्गाले घरमा क्षति पुग्ने गरेको भन्दै उनीहरूले सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन्।

