निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ, ९ माघ – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत माघ ७ गते उम्मेदवारी दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । सो दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उजुरी दर्ता गरिएको थियो ।

त्यसै दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएका छन् । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो ।

कुल उम्मेदवारमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा एक जना अन्य रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित हुनेछन् ।

Facebook Comments Box