निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ताका लागि नागरिकता अनिवार्य

काठमाडौँ, ६ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ४४ दिन बाँकी रहँदा उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका क्रममा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य हुनेछ। साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ।

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा, वा त्यस्ता सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको, अथवा सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि अनिवार्य गरिएको छ। सम्बन्धित अनुसूचीबमोजिम प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्ने आयोगले जनाएको छ।

प्रचलित कानुनबमोजिम योग्यता पुगेका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण भरी सहिछाप गरिएको मनोनयनपत्र पेस गर्नुपर्नेछ।

राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले जारी गरेको औपचारिक पत्र अनिवार्य हुनेछ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्नेछ। महिला तथा दलित, अल्पसङ्ख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि उक्त धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा सम्बन्धित स्थानीय तहले सिफारिस गरेको पत्रसमेत आवश्यक पर्ने आयोगले जनाएको छ।

यसका अतिरिक्त उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र, चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, ऋण तथा लगानीसम्बन्धी सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरिएको सम्पत्ति विवरण र वैयक्तिक विवरण फाराम पनि बुझाउनुपर्नेछ।

उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्योट भएको निस्सा र लेखा परीक्षणबाट किटानीसाथ असुल उपर गर्नुपर्ने बेरुजु भए त्यसको फछ्र्योट भएको निस्सा पनि अनिवार्य रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

Facebook Comments Box