मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
झापा, ६ माघ – चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यो आयात गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् ८ दशमलव ३९ प्रतिशतले वृद्धि भएको हो।
गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख मूल्य बराबरका वस्तु तथा सामान आयात भएका थिए। यद्यपि चालु आवको पहिलो छ महिनामा यस नाकाबाट हुने निर्यात भने घटेको छ। पुस मसान्तसम्म रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरका सामान विभिन्न मुलुक निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु १३ अर्ब ८४ करोड चार लाख मूल्य बराबरको वस्तु निर्यात भएको थियो।
यस नाकाबाट हुने निर्यात १ दशमलव २० प्रतिशतले घटेको भन्सार कार्यालयले जनाएको छ। पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोभी, ब्रोकाउली तथा जडीबुटी रहेका छन्।
आयाततर्फ पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ र अलकत्रा बिटुमिनलगायत मालवस्तु आयात हुने गरेका छन्। भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आयात–निर्यात कारोबारबाट रु आठ अर्ब ४० करोड ९१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ।

