राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
काठमाडौँ, ४ माघ – राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन गरिने भएको छ । पहिलो बैठक आज बिहान ११ः०० बजे बस्नेछ ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो । आजको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका सबै तयारी पूरा भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा माघ ४ गते बिहान ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनका लागि तयारी तीव्र पारेको छ । आयोगका अनुसार एक जना राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा तथा राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको सन्दर्भमा यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

