दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चुस्त र प्रभावकारी तयारी गर्न निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले सन् २०२६ मा जापानमा हुने एसियन गेम्सको पूर्वसन्ध्यामा राष्ट्रिय खेलकुद आयोजना हुन लागेको उल्लेख गर्दै तयारी तत्काल थाल्न आग्रह गर्नुभयो।

प्रतियोगिताको मिति र स्थान अध्ययनसहित छिटो टुंग्याउन र एकपटक निर्णय गरेपछि फेरबदल नगर्न पनि प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो। राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्बीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टङ्कलाल घिसिङ लगायतका अधिकारीहरू सहभागी थिए।

Facebook Comments Box