मलको सही मात्रा नबुझ्दा माटोको उत्पादन क्षमता खस्किँदै
चितवन, ४ माघ – बालीअनुसार कति मात्रामा रासायनिक मल प्रयोग गर्ने भन्नेबारे किसानलाई पर्याप्त जानकारी नहुँदा माटोको गुणस्तर खस्किँदै गएको र यसले कृषि उत्पादनमा समेत नकारात्मक असर पारेको सरोकारवालाले बताएका छन् ।
चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा आयोजित अन्तक्र्रियामा सहभागीहरूले रासायनिक मलको जथाभावी प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको भन्दै किसानलाई लक्षित तालिम, सचेतना र प्राविधिक सहयोग आवश्यक रहेको औँल्याएका हुन् ।
अन्तक्र्रियामा खैरहनी नगरपालिका–९ का मल विक्रेता रामचन्द्र रिजालले मल प्रयोगबारे किसान मात्र होइन, विक्रेतासमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो । “धेरैजसो किसानले मल किन्दा यसको प्रयोग विधि नबुझीकन खेतमा हाल्ने गरेका छन्,” उहाँले भन्नुभयो, “त्यसैले विक्रेताले पनि बुझेर किसानलाई जानकारी दिनुपर्छ ।”
गजुरा नगरपालिका–९ स्थित सामुदायिक जनशक्ति कृषि सहकारीका प्रतिनिधि धर्मेन्द्र चौधरीले मलको गुणस्तर र प्रयोगबारे किसानलाई निरन्तर सचेत गराउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार विज्ञहरूले खेतमै पुगेर व्यवहारिक तालिम दिन सके समाधान सहज हुनेछ ।
पश्चिम चितवनका किसानलाई मल बिक्री गर्दै आएका सीता एग्रोभेटका विष्णु पौडेलले याममा समयमा मल उपलब्ध हुन नसक्ने समस्या रहेको गुनासो गर्नुभयो । साथै उहाँले मलको भण्डारण, उपयोगिता र आवश्यक मात्राबारे किसानसम्म जानकारी पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कालिका नगरपालिका महिला साना किसान कृषि सहकारीकी सदस्य खड्काकुमारी खत्रीले तरकारी सिजनमा बढी उत्पादनको आशामा किसानले आवश्यकताभन्दा बढी मल प्रयोग गर्ने गरेको बताउनुभयो । कुन बालीका लागि कुन मल र कति मात्रा प्रयोग गर्ने भन्ने स्पष्टता नहुँदा समस्या बढेको उहाँको भनाइ थियो ।
राप्ती नगरपालिका–९ की किसान मनकुमारी अधिकारीले पनि तालिम र सचेतना कार्यक्रमको आवश्यकता औँल्याउँदै यसले मलको सही प्रयोगबारे किसानलाई मार्गदर्शन गर्ने बताउनुभयो । कृषि मन्त्रालयका पूर्वउपसचिव तथा मलविज्ञ भगवान खतिवडाले अधिकांश किसानले माटो परीक्षण नगरी रासायनिक मल प्रयोग गर्ने गरेको बताउनुभयो ।
उहाँका अनुसार मलको गुणस्तरभन्दा प्याकेजिङ र रङका आधारमा किसानले निर्णय गर्दा खर्च बढ्नुका साथै माटोको उर्वराशक्ति घट्ने समस्या देखिएको छ । “माटो परीक्षण नगरी मल हाल्नु भनेको रोग नचिनीकन औषधि खानुजस्तै हो,” उहाँले भन्नुभयो ।
उहाँले चितवनमा तोरी उत्पादन घट्नुको प्रमुख कारण माटोमा सल्फरको कमी रहेको उल्लेख गर्दै माटो परीक्षणको नतिजाका आधारमा बालीअनुसार मल प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले सरकारबाट अनुदानप्राप्त युरिया, डिएपी र पोटास तथा गैरअनुदान बहुतत्वयुक्त मल देशभर वितरण हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले सिफारिसअनुसार मात्र मल प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो । अन्तक्र्रियामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट किसान, सहकारी प्रतिनिधि, मल विक्रेता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

