प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको उपाधि एपीएफलाई
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको चौथो मिनेटमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। त्यस्तै, अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपीएफको जित सुनिश्चित भयो।
प्रतियोगिताको पहिलो संस्करणमै उपाधि जितेको एपीएफले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ। डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा कात्तिक २८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन गरिएको थियो।

