क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र
काभ्रेपलाञ्चोक, ४ माघ – पटक–पटकको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा परिचित उक्त राजमार्गको क्षतिग्रस्त खण्डमा दुई महिनाअघि तीन स्थानबाट स्थायी पुनर्निर्माण सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा रहेको क्षतिग्रस्त करिब ३० किलोमिटर सडक आगामी दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार तीनवटा निर्माण व्यवसायी कम्पनीले आ–आफ्नो कार्यक्षेत्रमा तीव्र रूपमा काम गरिरहेका छन् भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्ने भनिएको एक खण्डमा थप अध्ययनका कारण काम सुरु हुन सकेको छैन ।
“जाइकाले अध्ययन गरिरहेको छ, छिट्टै काम सुरु गर्ने जनाएको छ,” योगेशले भन्नुभयो । उहाँका अनुसार बाढीले क्षति पुर्याएका स्थानमा आरसिसी पर्खाल निर्माण भइरहेको छ भने चौकीडाँडामा खोलातर्फ प्लम्प पर्खाल तथा चारसयबेँसी र भकुण्डेबेँसी क्षेत्रमा आरसिसी पर्खाल लगाउने काम सुरु गरिएको छ । डालाबेँसी, मङ्गलटार खण्ड र चारसयबेँसी–नार्के खण्डमा सडक चौडा गर्ने कामसमेत भइरहेको छ ।
गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ भएको स्थानमा भविष्यमा बाढीले क्षति नपुग्ने गरी संरचना डिजाइन गरिएको छ । आगामी वैशाखसम्ममा क्षतिग्रस्त स्थानमा संरचना निर्माण सम्पन्न गरी वर्षायाममा खोलाको किनारबाट होइन, साविककै सडकबाट यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
यस वर्ष संरचना निर्माण र सडक चौडा गर्ने काम सम्पन्न गर्ने तथा आगामी वर्ष बाँकी खण्डमा कालोपत्रसहित पुनर्निर्माण पूरा गर्ने योजना रहेको योगेशले जानकारी दिनुभयो । पुनर्निर्माणपछि बिपी राजमार्गलाई दुई लेनको सडकका रूपमा स्तरोन्नति गरिनेछ । “सडकसँगै पुलहरू पनि दुई लेनका बनाइनेछन्,” उहाँले भन्नुभयो । हाल पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने अध्ययन भइरहेको छ ।
डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाखमा ठेक्का पाएको छ । चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११.०८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले रु एक अर्ब ३३ करोड ५३ लाखमा निर्माण गर्नेछ । नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९ किलोमिटर सडक खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले रु ६१ करोडमा निर्माण गर्ने ठेक्का सम्झौता भएको छ ।
कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड भने जाइकाे सहयोगमा निर्माण गरिनेछ । यसका लागि जापान सरकारले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भइसकेको छ ।
क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको छ । बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) १६० किलोमिटर लामो छ, जसको निर्माण जापान सरकारको अनुदान सहयोगमा सुरु भई २०७२ असार १८ गते नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । उक्त राजमार्ग काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने प्रमुख वैकल्पिक मार्गका रूपमा लिइन्छ ।

