निर्वाचनमा ४६ दिन बाँकी : आचारसंहिता पालना गर्ने प्रतिबद्धता
काठमाडौँ, ४ माघ : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४६ दिन बाँकी रहँदा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन प्रक्रिया अघि बढाउँदै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा सहभागी हुने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनसम्बन्धी छलफल आयोजना गरेको हो ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउतको उपस्थिति रहेको थियो । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
उनीहरूले नेपालको संविधान, निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ तथा निर्वाचन आचारसंहिता, २०८२ लगायतका निर्वाचनसम्बन्धी कानुनको इमान्दारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी निर्वाचनसम्बन्धी गतिविधिमा आयोग, निर्वाचन आचारसंहिता अनुगमन समिति तथा उपसमिति, निर्वाचन अधिकृत र मतदान अधिकृतले बोलाएको समयमा उपस्थित हुने प्रतिबद्धतासमेत जनाइएको आयोगले जनाएको छ । छलफलका क्रममा आचारसंहिता कार्यान्वयनका क्रममा अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनमा आयोग सचेत हुनुपर्ने सुझावसमेत प्राप्त भएको छ ।
छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निषेधको राजनीति नगरी कानुनको पालना गर्दै निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको थियो । केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले सामाजिक सञ्जाल अनुगमन प्रणाली (सोसियल मिडिया मनिटरिङ टुल्स) प्रयोग गर्ने जानकारी दिनुभयो ।
आसन्न निर्वाचनमा सहभागी हुने दलहरूले आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै सबै दलसँगको सहकार्यबाट निर्वाचन आचारसंहिता सफलतापूर्वक कार्यान्वयन हुनेमा आयोग विश्वस्त रहेको जनाएको छ ।
यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

