निसीखोलामा पुतली नाचको रौनक
बागलुङ, ४ माघ – बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते परम्परागत पुतली नाच नाचिने गरिन्छ । सयौँ वर्षदेखि निरन्तर चल्दै आएको यो नाच हेर्न माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीय तथा दर्शकको चहलपहल बढ्ने गरेको छ ।
बाइसे–चौबीसे राजाको पालादेखि सुरु भएको मानिने पुतली नाच पछिल्लो समय युवा पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको छ । वर्षमा एकपटक मात्र नाचिने यो नाच केही वर्षअघिसम्म सीमित चर्चामा रहे पनि हाल बागलुङ जिल्लामै चिनिन थालेको छ । विभिन्न रङ्गीचङ्गी कपडा पहिरिएर पुतलीजस्तै बनेका बालकदेखि वृद्धसम्म नाचमा सहभागी हुन्छन् ।
स्थानीय बूढापाकाका अनुसार तत्कालीन राजा–रानीको निधनपछि उनीहरूको स्मृतिमा पुतली नाच सुरु गरिएको हो । स्थानीय नैनासिंह बुढामगरका अनुसार माघ २ गते साँझ राजा, रानी र धाइको प्रतीकस्वरूप कपडाका पुतली बनाइने र माघ ३ गते बिहानदेखि साँझसम्म बाजागाजासहित नाच प्रदर्शन गरिन्छ ।
पुतली नाच भल्कोट गाउँ बाहेक अन्यत्र ननाचिने विशेष परम्परा हो । नाच जौँबारी हुँदै गाउँ वरिपरि घुमाइने र साँझपख निसीखोलामा लगेर विसर्जन गरिने चलन छ । पुतली नाचसँगै माघ ३ गते ‘भालुको पित्त’ देखाउने र कापै खेल्ने परम्परासमेत रहेको छ ।
नाचका क्रममा सहभागीले डम्फु, घाँडोलगायतका परम्परागत बाजा बजाउँछन् । पुतली नाचसँगै हातमा तरबार र ढाल लिएर नाचिने पट्टा नाच पनि प्रदर्शन गरिन्छ, जसलाई तत्कालीन राजाका सिपाहीहरूको तालिमसँग जोडेर हेरिने गरिएको छ ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार देशभर यस्ता मौलिक संस्कृतिहरू दुर्लभ बन्दै गएकाले संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । बालबालिका र युवाको सक्रिय सहभागिताका कारण पुतली नाचको संरक्षणमा चुनौती नरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय प्रचारप्रसार बढेसँगै पुतली नाच अवलोकन गर्न बाहिरी क्षेत्रबाट समेत दर्शक आउने क्रम बढेको छ, जसले भल्कोटको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको स्थानीयको भनाइ छ ।

