काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ, ३ माघ – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा केही घण्टा बिजुली कटौती गर्ने जनाएको छ। प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुली कटौती गरिनेछ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेकाले तथा भूमिगत गरिसकिएका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले बिजुली कटौती गर्न लागिएको हो।
प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म पानीपोखरी फिडरअन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ।
यसैगरी, राष्ट्रपति भवन शीतल निवास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समयसम्म बिजुली कटौती हुनेछ।
बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रसमेतमा बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिजुली कटौतीबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्धारित समयअगावै काम सम्पन्न भएमा सोभन्दा पहिले नै विद्युत् आपूर्ति सुचारु हुन सक्ने जानकारी दिएको छ।

