देशका सातवटै प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्दै
काठमाडौँ, १ असार – देशका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले सम्बन्धित प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानअनुसार संघीय सरकारले प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ भने अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारहरूलाई असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान गरेको छ।
त्यस्तै स्थानीय तहहरूले असार १० गतेभित्र आफ्नो बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ। आज मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ। कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने भएका छन्। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
प्रदेश सरकारहरूले आगामी वर्षका लागि सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन्। संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटलाई आधार मानेर प्रदेशहरूले आफ्नो वार्षिक योजना तथा कार्यक्रमसहित बजेट तयार पारेका हुन्।
यद्यपि, अधिकांश प्रदेशको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र खर्चको अवस्था अपेक्षाअनुसार देखिएको छैन। विगतका वर्षहरूझैँ यस वर्ष पनि बजेट खर्च गर्ने क्षमतामा प्रदेश सरकारहरू कमजोर देखिएका छन्, जसले विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको छ।

