जलवायु चुनौती सामना गर्न सबै पक्षको सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ, २ भदौ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सरकार मात्र नभई सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

हिन्दुकुश–हिमालय सांसदहरूको काठमाडौंमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायुको आवश्यकता जस्ता चुनौती समाधान गर्न सांसदहरूको सक्रिय नेतृत्व, आवाज र संकल्प जरुरी रहेको उल्लेख गर्नुभयो ।

“जलवायु सङ्कट अब टाढाको पूर्वानुमान नभई दैनिक यथार्थ बनेको छ, त्यसैले साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्छ,” मन्त्री देउवाले भन्नुभयो ।

उहाँले विश्व मौसम सङ्गठनको प्रतिवेदनमा १.५ डिग्री सेल्सियस नजिक विश्व तापक्रम पुगेको तथ्य र अन्तर्राष्ट्रिय अदालतले जलवायु परिवर्तनलाई कानुनी, नैतिक र राजनीतिक दायित्वका रूपमा परिभाषित गरेको विषय स्मरण गराउनुभयो ।

हालै भारत, पाकिस्तान र नेपालमा आएको ठूलो बाढीले क्षेत्रलाई अझ संवेदनशील बनाएको भन्दै उहाँले नेपाल कार्बन उत्सर्जन नगण्य भए पनि जलवायु अन्यायको शिकार भएको बताउनुभयो ।

मन्त्री देउवाले नेपालले सन् २०४५ सम्म ‘नेट–जिरो इकोनोमी’ बन्ने लक्ष्य लिएको, महत्वाकांक्षी राष्ट्रिय योगदान (NDC) प्रस्तुत गरेको र सगरमाथा संवादमार्फत विश्वलाई २५ बुँदे कार्ययोजना पेस गरेको जानकारी दिनुभयो ।

यी लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय सहकार्य, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता निर्माण अपरिहार्य रहेको उहाँको भनाइ थियो । सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका सांसद, सरकारका उच्च पदस्थ प्रतिनिधि तथा जलवायु विज्ञहरूको सहभागिता छ ।

Facebook Comments Box