दुईपटक अग्रता लिए पनि न्यूजिल्यान्ड इरानसँग बराबरीमा रोकियो

काठमाडौं, २ असार – फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा न्यूजिल्यान्डले दुईपटक अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा इरानसँग २–२ गोलको बराबरी खेलेको छ। अमेरिकाको लस एन्जलसस्थित रंगशालामा मंगलबार बिहान सम्पन्न समूह ‘जी’ को खेलमा न्यूजिल्यान्ड र इरानले अंक बाँडेका हुन्।

न्यूजिल्यान्डका एलिजाह जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर इरानका रामिन रेजाइयानले ३२औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। दोस्रो हाफमा एलिजाह जस्टले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै न्यूजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए। तर उक्त अग्रता पनि लामो समय टिक्न सकेन।

इरानका मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल २–२ को बराबरीमा सकियो। यस नतिजासँगै न्यूजिल्यान्ड र इरानले विश्वकपको पहिलो खेलबाट एक–एक अंक जोडेका छन्। समूह ‘जी’ अन्तर्गतकै अर्को खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेलेका थिए। त्यससँगै समूहका चारै टोली—इरान, न्यूजिल्यान्ड, बेल्जियम र इजिप्ट—ले समान एक–एक अंक प्राप्त गरेका छन्।

Facebook Comments Box