रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन, २९ पुस – खैरहनीमा आयोजना हुन लागेको खिचरा महोत्सवस्थलको पर्खाल यतिबेला दर्शकको ध्यान तान्ने केन्द्र बनेको छ। रङरेखाले सजिएको उक्त पर्खाल साधारण वाल पेन्टिङ होइन, थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोल्ने क्यानभास हो। उक्त पेन्टिङ चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले तयार गर्नुभएको हो।

विगत केही वर्षदेखि पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चौधरीका लागि कला पेसा मात्र नभई संस्कृति संरक्षणको माध्यम बनेको छ। यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवका लागि पर्खालमा चित्र कोर्दै भेटिनुभएकी उहाँले थारु समुदायको मौलिक संस्कृति जोगाउन आर्ट प्रभावकारी माध्यम भएको बताउनुभयो।

ललितकला क्याम्पसबाट स्नातक गर्नुभएकी चौधरी हाल विभिन्न विद्यालयमा आर्ट विषय अध्यापन गराउँदै आउनुभएको छ। साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय रहनुभएको छ। विगत चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न माध्यममा कला प्रशिक्षण दिँदै आउनुभएकी उहाँले विद्यार्थीमा सृजनात्मकता र कला प्रेम विकास गराउँदै आउनुभएको छ।

खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले तयार गर्नुभएका चित्रमा थारु समुदायको जीवनशैली स्पष्ट रूपमा झल्किन्छ। काठको गाडा, परम्परागत खानाका पोका, अन्न भण्डारण गर्ने तरिका, हरियाली खेत र फुलेको तोरीले पहेँलो बनेको दृश्यले ग्रामीण चितवनको वास्तविकता प्रस्तुत गरेका छन्। चित्रकलामार्फत पुस्तान्तरण हुँदै आएको जीवनशैली र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य रहेको उहाँको भनाइ छ।

सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले अध्ययनसँगै आर्टलाई व्यावसायिक रूपमा अघि बढाउने निर्णय गर्नुभएको थियो। क्याम्पस अध्ययनकै क्रममा आफ्नो गाउँठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोचले आज मूर्तरूप पाएको छ। हाल उहाँका कलाकृतिहरू महोत्सवका पर्खालसँगै दर्शकका मनमा पनि स्थान बनाउँदै गएका छन्।

आर्ट जबर्जस्ती सिकिने विषय नभई आत्माबाट निस्कने प्यासन भएको चौधरीको भनाइ छ। यही सोचका साथ उहाँले बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेसम्मलाई सीप र परामर्श दिँदै आउनुभएको छ। खैरहनी–८ स्थित आफ्नै स्टुडियोमार्फत केही महिनादेखि व्यावसायिक रूपमा कला कर्ममा संलग्न चौधरीका कलाकृतिको मागसमेत बढ्दै गएको छ।

खिचरा महोत्सव थारु समुदायको महत्वपूर्ण पर्व भएकाले त्यसमा आफ्नै समुदायको संस्कृति झल्काउने अवसर पाउँदा गर्व महसुस भएको उहाँले बताउनुभयो। चौधरीका अनुसार कलाको मूल्य पैसामा मात्र सीमित हुँदैन, त्यसको वास्तविक मूल्य भावना, इतिहास र पहिचानसँग जोडिएको हुन्छ। महोत्सवस्थलको पर्खाल अहिले रङले मात्र होइन, थारु पहिचानले सजिएको छ।

Facebook Comments Box