जलवायु परिवर्तनको स्वास्थ्य प्रभावलाई अन्तरराष्ट्रिय मुद्दा बनाउने नेपालको घोषणा

काठमाडौँ, ११ साउन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपाली नागरिकको स्वास्थ्यमा पारेको असरलाई अन्तरराष्ट्रिय मुद्दाका रूपमा उठाउने घोषणा गर्नुभएको छ।

बोआओ फोरमअन्तर्गत आयोजित पूर्ण सत्रमा “नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य” विषयमा मन्तव्य राख्दै मन्त्री पौडेलले नेपाल डिजिटल स्वास्थ्य प्रणालीतर्फ रुपान्तरणको दिशामा अगाडि बढिरहेको बताउनुभयो। उहाँले नागरिकको स्वास्थ्य पहुँच बढाउनुका साथै सेवाको गुणस्तर सुधार गर्ने रणनीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो।

मन्त्री पौडेलले आधुनिक प्रविधिबाट स्वास्थ्य सेवा सुलभ, प्रभावकारी र लक्षित बनाउने सम्भावनाको चर्चा गर्दै, निदान, प्रणाली व्यवस्थापन तथा जोखिम नक्साङ्कनमा प्रविधिको भूमिका उल्लेख गर्नुभयो। स्वास्थ्य पहुँच बाहिर रहेका वर्गलाई केन्द्रमा राखेर काम भइरहेको उहाँको भनाइ थियो।

फोरमभित्रको अर्को सत्र — “जलवायु परिवर्तन र स्वास्थ्यमा असर” — मा सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायुजन्य स्वास्थ्य संकट नेपाली जनजीवनमा गहिरो प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। यस समस्यालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्न विशेष सम्मेलन आयोजना गर्ने नेपाल सरकारको तयारीबारे जानकारी दिनुभयो। उहाँले जलवायु परिवर्तनसँग जुध्नका लागि नेपालको प्रयासलाई साझा मुद्दा बनाउन क्षेत्रीय र अन्तरराष्ट्रिय सहकार्यमा जोड दिनुभयो।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (NDCPC) का निर्देशक शेन होङबिनसँग भेट गर्नुभयो। भेटमा नेपाल–चीन स्वास्थ्य सहकार्य, विशेष गरी हेटौँडास्थित भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालमा न्यूरो उपचार केन्द्र स्थापना लगायतका विषयमा छलफल भएको नेपाली राजदूतावास, बेइजिङले जनाएको छ। मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग समेत भेट गर्दै, चीनमा प्राप्त ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सेवामा प्रयोग गर्न आग्रह गर्नुभयो।

Facebook Comments Box