केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ चैत – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णालीका केही स्थान तथा बागमती प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box