वर्षापछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
काभ्रेपलाञ्चोक, १५ चैत – वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी प्रमुख कोमल शाहका अनुसार अवरुद्ध राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँगको समन्वयमा आइतबार बिहानदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
यद्यपि, मौसम अझै प्रतिकूल रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। शुक्रबार साँझ ६ बजेदेखि रोशी गाउँपालिका–७ घुमाउनेडाँडा, रोशी–९ विरुवाडाँडा, चिउरीबास तथा रोशी–११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
रोशी खोलामा आएको बाढीले करिब साढे ५ किलोमिटर क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। अहिले बगाएका स्थानहरूमा पुनः अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

