अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माण कार्य ठप्प
मुस्ताङ, २९ पुसः – अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन्। हिउँदयाम सुरु भएसँगै तापक्रम अत्यन्तै घटेपछि जिल्लाका पाँचवटै स्थानीय तहमा सञ्चालनमा रहेका अधिकांश पूर्वाधार विकास योजनाको काम रोकिएको हो।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना चिसोका कारण प्रभावित बनेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। अत्यधिक चिसोका कारण विकास निर्माणमा प्रयोग हुने उपकरण सञ्चालनमा आउन नसक्दा पुसअघि नै मुस्ताङ खण्डको काम स्थगित गरिएको उहाँले बताउनुभयो।
आयोजनाका अनुसार चिसोको प्रभावले प्रभावित बनेका कोरला सडकअन्तर्गतका निर्माण कार्य चैतपछि मात्रै पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षमा ठेक्का सम्झौता भएको कागबेनी–छुसाङ ९ दशमलव ८ किलोमिटर कालोपत्र सडक स्तरोन्नतिको काम पनि चिसोका कारण रोकिएको छ। उक्त सडक कालोपत्रका लागि रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरिएको थियो।
यसैगरी, विसं २०७५ मा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने घमी खोला पुल निर्माण कार्य पनि चिसोका कारण स्थगित भएको छ। रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता भई अघि बढाइएको ४० मिटर लामो उक्त पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको भए पनि एप्रोज रोड र फिनिसिङको काम बाँकी रहेकै अवस्थामा चिसो बढेपछि काम रोकिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक खण्डको काम पनि चिसोका कारण अवरुद्ध भएको छ। विसं २०७३/७४ देखि निर्माण सुरु गरिएको उक्त सडकमा अझै करिब पाँच किलोमिटर कालोपत्र हुन बाँकी रहेको छ। निर्माण कम्पनीले सक्रियता देखाएको भए पुसअघि नै काम सम्पन्न हुने अपेक्षा गरिएको थियो।
त्यस्तै, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुलको काम पनि चिसोका कारण प्रभावित बनेको छ। अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विकास योजना ठप्प भएका छन्।
मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयअन्तर्गत कार्यान्वयनमा रहेका पुराना बहुवर्षीय १२ योजना र चालु वर्ष थपिएका १३ नयाँ योजना चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर जगदीश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा केही कटिङको काम भए पनि अधिकांश योजना स्थगित गर्नुपरेको छ।
चिसोका कारण खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँचै स्थानीय तह तथा विभिन्न सङ्घसंस्थामार्फत सञ्चालित भौतिक पूर्वाधार निर्माणका काम प्रभावित बनेका छन्। जिल्लाका प्रत्येक स्थानीय तहमा ५० भन्दा बढी साना–ठूला विकास योजना कार्यान्वयनमा रहे पनि सबैजसो योजना चिसोका कारण रोकिएका छन्।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले हिउँदयाममा चिसो र सम्भावित हिमपातको जोखिमका कारण विकास निर्माण कार्य अघि बढाउन नसक्ने अवस्था बर्सेनि दोहोरिने गरेको बताउनुभयो। चिसो घटेपछि वैशाख महिनाबाट मात्र विकास निर्माणका काम पुनः सुरु गर्न सकिने उहाँको भनाइ छ।
चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीसम्म झरेको छ। चिसोका कारण अधिकांश सरकारी कार्यालयका कर्मचारी जिल्ला बाहिर सरे पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी भने कार्यस्थलमै रहेर शान्ति सुरक्षामा खटिएका छन्। माथिल्लो मुस्ताङ मानवविहीन जस्तै अवस्थामा पुगेको भए पनि दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरू नागरिकका खाली घरगाउँको रेखदेख गर्दै बसिरहेका छन्।

