ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

काठमाडौँ, १४ चैत – गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध नभई न्यायको प्रक्रिया सुरु भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले “कानुनभन्दा माथि कोही छैन” भन्ने स्पष्ट गर्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका हुन्।

उनले गत भदौ २३ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका आधारमा कारबाही अघि बढाइएको उल्लेख गरेका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगले ओली र लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो।

मन्त्री गुरुङले यो कदमले देशले नयाँ दिशा लिने विश्वास व्यक्त गर्दै सरकार कानुनी शासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रहरीले आज बिहान दुवै नेतालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

Facebook Comments Box