पर्यटकको रोजाइमा रास ताल
सुनसरी, १५ चैत – रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणका रूपमा उदाउँदै गएको छ। रामधुनी नगरपालिका–७ मा अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीले घेरिएको शान्त वातावरणका कारण चर्चित बन्दै गएको हो।
अन्य तालभन्दा फरक विशेषता बोकेको यस तालमा मनोरम दृश्यसँगै दिनभर माछा मार्ने (फिसिङ) सुविधा उपलब्ध हुनु मुख्य आकर्षणका रूपमा रहेको छ। यही कारण धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट दैनिक रूपमा पर्यटक यहाँ पुग्ने गरेका छन्।
वनभोजका लागि समेत उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटक १४५ समूहलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ। पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारसम्म पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि दुईदेखि तीन सयसम्म पर्यटक आउने गरेको रास ताल व्यवस्थापन समितिले जनाएको छ।
करिब ६१ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र आठ हेक्टरमा फैलिएको यो ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङ सँग जोडेर २०७१ सालदेखि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको हो। कोशी प्रदेश पर्यटन मन्त्रालयको सहयोगमा यहाँ भ्यूटावर, सालिक, तारबार, सांस्कृतिक संरचना र सङ्ग्रहालय निर्माण गरिएको छ।
यहाँ रु ३०० शुल्क तिरेपछि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म माछा मार्न पाइने व्यवस्था छ। पर्यटकले समातेको माछा आफैँ लैजान सक्ने सुविधा छ, जसमा रहु, ग्रास, कमलकारलगायत सात प्रजातिका माछा पाइन्छन्। तालमा बोटिङ सुविधा, चिडियाघर अवलोकन (खरायो, बाँदर, अजिङ्गर आदि) तथा ट्री हाउसबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था छ। साथै, तालको बीचमा टापु निर्माण गरी काठका पुलमार्फत आवतजावतको सुविधा मिलाइएको छ।
पिकनिक र बोटिङबाट वार्षिक रूपमा करिब ६–७ लाख रुपैयाँ आम्दानी हुने गरेको समितिले जनाएको छ। पर्यटक आगमनसँगै स्थानीय व्यवसायसमेत चलायमान भएका छन्। यद्यपि, केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले थप लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ। सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई दीर्घकालीन रूपमा आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित संरक्षण र विकासका काम जारी रहेका छन्।

