बिपी राजमार्गमा सवारी सञ्चालन रोक, रोशी खोलाको बाढीले सडक बगायो

काभ्रेपलाञ्चोक, १५ चैत – बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा शुक्रबार साँझ आएको वर्षापछिको बाढीले सडक अवरुद्ध भएपछि प्रहरीले सवारी सञ्चालनमा रोक लगाएको छ। रोशी खोलामा आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर अस्थायी ‘डाइभर्सन’ बगाएपछि शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार शनिबार रातिदेखि सडक पूर्ण रूपमा नखुलेसम्म सवारी आवागमन बन्द गरिएको छ। सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहकार्यमा अस्थायी सडक पुनर्निर्माणको प्रयास भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार पानीको बहाव घटेपछि मात्रै डाइभर्सन निर्माण सम्भव हुनेछ। गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनाएको उक्त सडकखण्डमा अस्थायी रूपमा १८ किलोमिटर डाइभर्सन बनाइएको थियो, जसमध्ये चार किलोमिटर पुनः बगाएको जनाइएको छ।

बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा पहिरो तथा बाढीले सडकमा थप क्षति पुर्‍याएको छ। यसैबीच बाढीले बगाउँदा रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको छ। साथै, बाढीमा फसेका सात जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडीसमेत बगाएको छ।

राजमार्ग अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। पानीको सतह घटेपछि आइतबार बिहानदेखि वैकल्पिक डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहने बताइएको छ।

Facebook Comments Box