दाउन्नेमा सवारी दुर्घटना : तीनको मृत्यु, १४ घाइते

पश्चिम नवलपरासी, १४ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बर्दघाट नगरपालिका–४ स्थित घ्यु खोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशामा गइरहेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा रोल्पा बाघमाराका २५ वर्षीय गोविन बुढासहित अन्य दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले जानकारी दिनुभयो। मृतकहरूको शव पृथ्वीचन्द्र अस्पताल, परासीको शवगृहमा राखिएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई बुटवलस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्य घाइतेहरूको चिसापानी अस्पताल, बर्दघाटमा उपचार भइरहेको छ।

उद्धारका क्रममा प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्य चिप्लिएर लड्दा घाइते हुनुभएको छ। उहाँको पनि बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट छुटेको यात्रुबाहक बस रोल्पातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।

Facebook Comments Box