विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु

काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्र बिहान ८ बजेदेखि सुरु हुनेछ । बन्दसत्रले सबैभन्दा पहिला विशेष महाधिवेशनका लागि तयार पारिएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।

कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका तथा भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिलाई समेटेर नौ वटा छुट्टाछुट्टै समूह गठन गरिनेछ । ती समूहमा नीति, नियम, विधान र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल गरिने संयोजक आचार्यले जानकारी दिनुभयो । बन्दसत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम तय भएको छ ।

Facebook Comments Box