सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
सिरहा – सिरहामा प्रहरीले एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरेको छ । मंगलबार राति चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा गाँजा ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीको निगरानी थाहा पाएपछि चालकले चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएको प्रहरीको ब्यारिकेट तोडेर एम्बुलेन्स भगाएका थिए । प्रहरीले पछ्याउने क्रममा चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडक खण्डमा एम्बुलेन्स छाडेर फरार भएको सिरहा प्रहरीले जनाएको छ ।
एम्बुलेन्स जाँच गर्दा पाँच वटा बोराभित्र १०५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । बरामद गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ । फरार चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

