आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौँ, २७ पुस – आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको योगदानको स्मरण गर्दै हरेक वर्ष पुस २७ गते यो दिवस मनाउने गरिन्छ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले पुर्याएको ऐतिहासिक योगदानको सम्मानस्वरूप आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पहार अर्पण गरिनेछ । पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको छ । शाहको जन्मस्थान गोरखामा पनि यो दिवस विशेष कार्यक्रमका साथ मनाइँदै आएको छ । यसैगरी, नेपाली सेनाले हरेक वर्षझैँ आज पनि सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्नुभएको थियो । २० वर्षको उमेरमा गद्दीआरोहण गर्नुभएका शाहले आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान अघि बढाउनुभएको थियो । उहाँको १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउने सन्देश दिन्छ । यस दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने मूल्य र मान्यतालाई उजागर गर्दै समावेशी र सशक्त राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गर्दछ । विशेषगरी, युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गराउन यस दिवसको विशेष महत्व रहेको छ ।
शाहको एकीकरण अभियानले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेकाले नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सकेको हो । उहाँका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छन् ।
साथै, भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ को संज्ञा दिनुभएको भनाइ पनि आजसम्म चर्चित छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

