ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

अमरगढी (डडेल्धुरा), २७ पुसः डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीमा शनिबार साँझ उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचारका क्रममा दुवै जनालाई मृत घोषणा गरेका हुन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा संलग्न परशुराम नगरपालिका निवासी ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट घटनापछि फरार रहनुभएको छ । उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box