ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौँ, २३ पुस – ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । उहाँले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको हो ।

राजीनामा बुझाएपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पनुभएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक रहिसकेका घिसिङले आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराउनुभएको थियो । पछि उहाँले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग उपसभापतिको सहमति गर्दै एकता गर्नुभएको थियो ।

गैरदलीय सरकारमा मन्त्रीको जिम्मेवारीमा रहेकै बेला घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा सक्रिय भएको भन्दै उहाँले राजीनामा दिनुपर्ने माग उठ्दै आएको थियो ।

सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक संलग्नतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले घिसिङलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो ।

Facebook Comments Box