वर्षा र पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध, यातायात प्रभावित
काठमाडौँ, २३ साउन।- लगातारको वर्षा, पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ७ बजेसम्म तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, मुगुको नाग्म–गमगढी, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्ड प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ। यस्तै, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
इलामको राजदुवालीमा सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। दोलखाको किर्नेटारमा खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
यसैगरी, सोलुखुम्बुको सल्लेरी–लुक्ला सडक र तेह्रथुमको काडे पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण अवरुद्ध भएका छन्। प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

