सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते
सल्यान, १२ असोज – राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ का २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पबीको पहिचान उनको नागरिकताबाट र शशीधरको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेका हुन्।
रुकुम पश्चिमको बाफीकोटबाट दाङको घोराहीतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बिहान करिब ४ बजे सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनामा सोही ठाउँका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन्।
दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र प्रारम्भिक उपचारपछि बिहान ६ बजे बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गाडीमा तीन पुरुष र दुई महिला गरी पाँच जना सवार थिए। राति १० बजे कपुरकोट प्रहरी चौकीमा इन्ट्री भएको विवरणमा पनि पाँचै जना सवार रहेको पुष्टि भएको छ।
दुर्घटनास्थलमा प्रहरी सहायक निरीक्षक गोपालबहादुर वलीको नेतृत्वमा सात जनाको टोली खटाइएको थियो। साथै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको कमाण्डमा थप नौ जनाको टोली परिचालन गरिएको थियो। दुर्घटनास्थल कपुरकोट प्रहरी चौकीबाट करिब ६ किलोमिटर दक्षिण र लुहाम प्रहरी कार्यालयबाट २६ किलोमिटर पूर्वमा पर्छ।

