यसरी बढाउँदैछ आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलन
देवदह (रुपन्देही), २३ पुसः आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी–बक्यौता असुली गर्दै राजस्व सङ्कलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको छ। कार्यालयअन्तर्गत रहेका आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान थालिएको हो। कार्यालयका अनुसार हाल दाखिला हुन बाँकी करिब रु एक अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको हो।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार विसं २०८२ कात्तिकदेखि अभियान सुरु गरिएको हो। “सुरुमा करदाताको कारोबार ठेगानामा पत्राचार गरेर कर तथा विवरण बुझाउन अनुरोध गरियो,” उहाँले भन्नुभयो, “त्यसपछि घर–ठेगानामा पत्र पठाइयो र सबै करदातालाई मोबाइल सन्देश (एसएमएस) तथा टेलिफोनमार्फत पनि सम्पर्क गरिएको छ।”
प्रत्येक करदाताका लागि स्रोत व्यक्ति (फोकल पर्सन) तोकेर नियमित ‘फलोअप’ भइरहेको उहाँले जानकारी दिनुभयो। लामो समयदेखि भ्याट विवरण, आय विवरण र अन्तःशुल्क विवरण नबुझाएका करदातालाई लक्षित गरी तीन जना कर्मचारीलाई समर्पित रूपमा खटाइएको छ।
कार्यालयले करदातालाई जानकारी गराउन सम्बन्धित पालिका र वडा कार्यालयमा सूचना टाँस गर्नुका साथै स्थानीय तहका फेसबुक पेज र आन्तरिक राजस्व कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत पनि सूचना प्रवाह गरेको छ। साथै करदातालाई कार्यालयसम्म आउन सहयोग गरिदिन स्थानीय जनप्रतिनिधिसँग आग्रह गरिएको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो।
कार्यालय प्रमुखहरूको मासिक बैठकमार्फत समेत यो सूचना प्रवाह गरिएको छ। हालसम्म मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताको सङ्ख्या तीन हजार ६०० रहेको कार्यालयले जनाएको छ। कर अधिकृत गौरव पाण्डेका अनुसार विसं २०८२ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाएमा अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा हुनेछ।
त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको छ। पुस मसान्तभित्र विवरण बुझाएर छुटको लाभ लिन करदातालाई उहाँले आग्रह गर्नुभयो। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मका लागि आन्तरिक राजस्व विभागले रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकोमा कार्यालयले लक्ष्यको १२१ दशमलव एक प्रतिशत अर्थात् रु छ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन भएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व सङ्कलन ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिनुभयो।
अर्थतन्त्रका परिसूचकमा सुधार, आर्थिक गतिविधिमा वृद्धि, नियमित तथा प्रभावकारी बजार अनुगमन, बाँकी–बक्यौता असुलीमा तीव्रता, बजेटमा व्यवस्था भएका छुट सुविधाको कार्यान्वयन, करदाता शिक्षा, करदातामैत्री सेवा प्रवाह तथा नक्कली भ्याट बीजक जारी गर्ने र प्रयोग गर्नेविरुद्धको अनुसन्धानले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सम्भव भएको उहाँको भनाइ छ।
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन्। यस कार्यालयको कार्यक्षेत्रमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ तथा ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी गाउँपालिका तथा शुद्धोदन गाउँपालिकाको वडा नं ३ र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) जिल्ला पर्छ।

