चन्दा सङ्कलन गरी खेलमैदान निर्माणका लागि जग्गा खरिद
म्याग्दी, २३ पुस – अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माणको काम सुरु गरिएको छ। समुदायस्तरबाट सहयोग जुटाई खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो। अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम सम्पन्न गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो।
“खेलमैदानको अभावमा युवायुवतीलाई खेल अभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष रु २८ लाख ४२ हजारमा जग्गा खरिद गरेको हो,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको बजेटको काम सकिएको छ भने प्रदेश सरकारले विनियोजन गरेको रु पाँच लाख बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ।”
क्लबले खरिद गरेको जग्गासँगै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेका ठूला ढुङ्गा पन्छाएर खेलमैदान विस्तार गर्ने योजना पनि रहेको वडाध्यक्ष खड्काले बताउनुभयो। ठूला ढुङ्गा फुटाउन मध्य कालीगण्डकी जलविद्युत् आयोजनासँग सहयोग मागिएको उहाँको भनाइ छ।
पैतालीस मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजसहितको खेलमैदान निर्माणका लागि रु एक करोड १९ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। आगामी वर्षहरूमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी थप बजेट सुनिश्चित गरेर खेलमैदान निर्माणलाई पूर्णता दिने योजना रहेको वडाध्यक्ष खड्काले बताउनुभयो।
खेलमैदान निर्माणका लागि घार युवा क्लबले विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट चन्दा सङ्कलन गरेको हो। घारखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत रु १३ लाख ५० हजार उपलब्ध गराएको छ भने चन्दाबाट रु पाँच लाख ५५ हजार सङ्कलन गरिएको छ। हाल जापानमा रहनुभएका घारका ददीवल खड्काले व्यक्तिगत रूपमा रु पाँच लाख सहयोग गर्नुभएको क्लबले जनाएको छ।
त्यसैगरी घार कोटमन्दिरबाट रु एक लाख ६५ हजार, शिवकुमार बरुवालबाट रु ५० हजार, कमल बरुवालबाट रु ५५ हजार, अन्नपूर्ण वन संरक्षण उपसमितिबाट रु एक लाख १० हजार सहयोग प्राप्त भएको छ भने रु ७० हजार ऋण रहेको घार युवा क्लबका अध्यक्ष सागर खड्काले जानकारी दिनुभयो। क्लबले बल्लिका बरुवालबाट रु २१ लाखमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा रु सात लाखमा खरिद गरेको हो।

